काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ५१ लाख सहयोग गरेको छ।
कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले उक्त रकम बराबरको चेक अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
कम्पनीले भाद्र १० गते भोटेकोशी र त्रिशूली नदीमा गेग्रानसहित आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यमा सक्रियतापूर्वक जुट्न आफ्ना कर्मचारी तथा अभिकर्ताहरूलाई आग्रह गरेको छ।
साथै, विपद्मा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।





























