काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका कार्यहरूको विवरण समेटिएको वार्षिक प्रतिवेदन सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष पेश गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको केन्द्रले आफ्नो स्थापनाको २५औं वर्षमा प्रवेश गरेको अवसरमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा प्राप्त २ हजार ५ सय ६६ उजुरीमध्ये ७२ प्रतिशत उजुरी फर्छ्योट गरिएको छ।
भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण तथा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले केन्द्रले सेवा प्रवाहमा सुधार ल्याउन नयाँ प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको जनाएको छ।
प्रतिवेदनमा उल्लेख भएअनुसार केन्द्रले सचेतनामूलक स्टिकर सार्वजनिक गर्नुका साथै सार्वजनिक सेवा सन्तुष्टि मापनका लागि क्यूआर कोड प्रणाली सञ्चालनमा ल्याएको छ।
यसबाट सेवाग्राहीको प्रतिक्रिया संकलन र सार्वजनिक सेवाको गुणस्तर मूल्याङ्कनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
केन्द्रले देशभरका १ हजार ५ सय ७७ सरकारी कार्यालयमा छड्के अनुगमन तथा निरीक्षण गरेको जनाएको छ।
अनुगमनका क्रममा समय पालना नगर्ने तथा तोकिएको पोशाक नलगाउने ११ हजार १ सय १ जना कर्मचारीलाई कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ।
यसका साथै केन्द्रले सरकारी कार्यालयमा आचारसंहिता पालना, फाइल ट्रयाकिङ, सरकारी सवारीसाधनको प्रयोग नियमन तथा बिचौलिया नियन्त्रणलगायतका विषयमा नियमित निगरानी गरिरहेको जनाएको छ।
केन्द्रले सरकारी निकायमा भ्रष्टाचार, कर्मचारीको आचारसंहिता उल्लंघन वा शंकास्पद सम्पत्तिसम्बन्धी सूचना भए हटलाइन नम्बर ०१४२००३४५ मा सम्पर्क गरी जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ।





























