स्थानीय उत्पादनलाई प्राथमिकता दिदै मेलम्ची नगरपालिकाले ल्याउदैछ,‘कोसेली घर’

स्थानीयस्तरमै रोजगारी सिर्जना, आयआर्जन वृद्धि र नगरको अर्थतन्त्रलाई थप सुदृढ बनाउन महत्वपूर्ण हुने नगरपालिकाको अपेक्षा

मेलम्ची ,सिन्धुपाल्चोक। स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै मेलम्ची नगरपालिकाले स्थानीय उत्पादनको संरक्षण, प्रवर्द्धन, बजारीकरण तथा उद्यमशीलताको विकासलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘कोसेली घर’ सञ्चालनमा ल्याउने भएकोछ ।

नगरपालिकाका अनुसार कोसेली घरमार्फत नगरभित्र उत्पादन हुने कृषि उपज, घरेलु तथा हस्तकलाका सामग्री, स्थानीयमा उत्पादित खाद्य परिकार तथा अन्य मौलिक उत्पादनलाई एकीकृतरूपमा बिक्री–वितरण गर्ने जनाएकोछ ।

यसले स्थानीय उत्पादनलाई सहज बजार उपलब्ध गराउनुका साथै उपभोक्तालाई एउटै स्थानबाट गुणस्तरीय स्थानीय वस्तु खरिद गर्ने अवसर हुने अपेक्षा गरिएको छ ।

कोसेली घर सञ्चालनमा आएपछि स्थानीय किसान, महिला उद्यमी, युवा तथा साना व्यवसायीले आफ्ना उत्पादन बिक्रीका लागि नयाँ अवसर प्राप्त गर्ने नगरपालिकाको विश्वास छ ।

यसबाट उत्पादकले आफ्ना वस्तुको उचित मूल्य पाउनुका साथै स्थानीयस्तरमै रोजगारी सिर्जना, आयआर्जन वृद्धि र नगरको अर्थतन्त्रलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले स्थानीय उत्पादन गर्ने व्यक्ति, समूह, सहकारी तथा उद्यमीलाई आफ्ना उत्पादनसहित नगरपालिकामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

घरेलु उत्पादनको बजारीकरण, प्रचारप्रसार, आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माण गर्ने अभियानका रूपमा हेरिएको यो पहल मेलम्ची नगरपालिकाको आर्थिक तथा पर्यटन विकासमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।