काठमाडौँ । फिफा विश्वकप २०२६ को उपाधि स्पेनले हात पारेकोछ । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई रोमान्चक भिडन्तमा खेलको अन्तिम समयमा एक शून्य गोल अन्तरले पराजित गर्दै स्पेनले उपाधि चुमेको हो ।
खेलको अतिरित्त समय १ सय ६ मिनेटमा स्पेनका फेरान टोरेसले निको विलियम्सको उत्कृष्ट पासलाई सदुपयोग गर्दै गोल गर्न सफल भएका हुन् ।
यो जितसँगै स्पेनले १६ वर्षपछि दोस्रो पटक विश्वकपको सुनौलो ट्रफी उचाल्न सफल भएको हो । यसअघि सन् २०१० मा नेदरल्यान्ड्सलाई पराजित गर्दै स्पेनले पहिलो पटक विश्वकप जितेको थियो ।
अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ रङ्गशालामा नेपाली समयअनुसार १२ ४५ मा भएको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो ।
खेलमा अर्जेन्टिनाका मिडफिल्डर इन्जो फर्नान्डिजले दुईवटा पहेँलो कार्ड (रातो कार्ड) पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित बनेको थियो ।
खेलभरि गोलका लागि एउटा पनि प्रयास गर्न नसक्नु अर्जेन्टिनाका लागि दुखद दृष्य देखिएको थियो ।
स्पेनले गोलका लागि २० वटा प्रयास गर्दा १२ वटा प्रहार पोस्टको दिशामा हानेको थियो ।
त्यसअघि अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले स्पेनका दर्जनौँ उत्कृष्ट प्रहारहरूलाई विफल पारिदिएसगै खेल रोमाञ्चक मोडमा पुगेको थियो ।




























