काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही तथा मधेस र कोशी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना पनि छ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, मधेस र कोशी प्रदेशका पहाडी तथा तराईका साथै कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
बङाल को खाडीमा बनेको वर्षा गराउने प्रणाली (न्यून चापिय अवस्था)ले आगामी १ हप्ता सम्मै मनसुनी वर्षा नेपाल को अधिकान्स भागमा सक्रिय हुने जलवायु विज्ञ धर्मराज उप्रेती बताउनुहुन्छ ।
तर मधेस को जनकपुर वरिपरि भने हल्का वर्षा मात्र हुने संभावना, मध्य पाहाडी भाग मा राम्रो वर्षा तर अहिले को प्रणाली को खास प्रभाव भने साउन को २ गते शनिबार साझ देखि मंगलवार ५ गते सम्म देखिने उहाँको भनाईछ ।
मनसुन को न्यून चापिय रेखा को पश्चिम भाग नेपाल नजिक, पुर्बी भाग औसत स्थान मा रहेको र १ हप्ता नेपाल मा वर्षा को आउजाउ बाक्लो हुने संभावना बलियो भएको उप्रेती बताउनुहन्छ।
भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको हो।





























