काठमाडौं । सोमबार साताको पहिलो कारोबारको दिन सोमबार शेयरबजार परिसुचक नेप्सेमा दोहोरो अंकको गिरावट आएकोछ ।
आज २६ दशमलव २९ अंकले घटेर परिसुचक २६२७ दशमलव ११ विन्दुमा बन्द भएकोछ ।
यसदिन ३५६ स्टकको ४६ हजार २४६ पटकको कारोबारमा ३ अर्ब ५५ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि घटेको छ । यस दिन १३ वटै उपसमूहको परिसूचक घटेकोछ । सबैभन्दा धेरै व्यापार उपसमूह ३ दशमलव १५ प्रतिशतले घटेको छ भने बैंकिङ, वित्त तथा उत्पादन र प्रशोधन उपसमूह १ प्रतिशतभन्दा बढीले घटेका छन् ।
आज स्नो रिभर्स, सानिगाड हाइड्रो र कालंगा हाइड्रोका सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
आजको कारोबारमा थ्रि स्टार हाइड्रोपावरको सेयर भने सबैभन्दा धेरै १३ दशमलव ७९ प्रतिशतले घटेकोछ ।
आजको कारोबार रकमका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८४ शीर्ष स्थानमा रहेकोछ जसको ५३ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपा स्टक एक्सचेन्जले जनाएकोछ ।





























