काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा दुई दिनमात्र सञ्चालन हुने अर्थात साउन २ र ३ गतेका लागि मात्रै हुने जानकारी दिएको हो ।
सार्वजनिक तालिकाअनुसार एक विषयको मात्र परीक्षामा सहभागी हुने परीक्षार्थीले जुन सुकै विषय भए पनि पहिलो दिन सहभागी हुनु पर्नेछ ।
अनिवार्य अंग्रेजी विषयको परीक्षामा सम्मिलत हुने परीक्षार्थीहरूका लागि पहिलो दिनमात्र परीक्षा हुने बोर्डले जनाएको छ ।
तर, अनिवार्य अंगे्रजी र अनिवार्य नेपाली विषयको परीक्षामा सम्मिलत हुने परीक्षार्थीहरूले नेपाली विषयको परीक्षा दोस्रो दिन दिनुपर्ने छ ।
बोर्डका अनुसार दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि दोस्रो दिन परीक्षा हुनेछ । परीक्षा बिहान ११ बजेदेखि सुरू हुने छ ।
कक्षा १२ को मौका परीक्षामा सहभागी हुनका लागि १९ असारभित्र बोर्डको सम्बन्धित कार्यालयको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी आठ सयका दरले हुन आउने रकम बुझाइसक्नुपर्ने सूचनामा उल्लेख छ ।




























