काठमाडौं । प्रेस काउन्सिल नेपालमा आज पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता गर्दै काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले पत्रकार आचारसंहिताको अक्षरस पालना भएमा सञ्चार माध्यमको विश्वसनीयता झनै बढ्ने बताउनुभयो ।
पत्रकार तथा सञ्चार माध्यमले सूचना प्रविधिको विकाससँगै बढेको दुष्प्रचारलाई ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । एआइ लगायतका प्रविधिहरू लाई सहयोगी मात्र बनाउन सुझाव दिनुभयो ।
कार्यक्रममा स्रोत व्यक्ति रहनुभएका रत्नराज्य क्याम्पसका उपप्रध्यापक एवं आमसञ्चार र पत्रकारिता विभाग प्रमुख डा.जगत नेपालले पत्रकार आचारसंहिताबारे जानकारी गराउनुभएको थियो ।
उहाँले पछिल्लो समय प्रविधिको विकासकै कारण स्वरोजगारमूलक सञ्चार माध्यमहरू र मूलधारका सञ्चार माध्यम भन्ने भाष्य हट्दै समानरूपमा बुझ्न थालिएको उल्लेख गर्नुभयो ।
प्रविधिलाई सहीरूपमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै यसलाई अवसर र चुनौतीका रूपमा लिनुपर्ने बताउनुभयो । आचारसंहिताका व्यवस्थाबारे प्रष्ट पार्दै उहाँले तथ्यगत पुष्ट्याईंबेगरका सामग्री सम्प्रेषण गर्न नहुनेमा जोड दिनुभयो ।
काम गर्दै जाँदा त्रुटी भएमा तत्काल सच्याउनुपर्ने उहाँको भनाइ थियो । पछिल्लो समय केही सञ्चार माध्यमले भ्युजका लागि अश्लील र गालीबेइज्जतीलाई प्रश्रय दिइरहेकोमा चिन्ता व्यक्त गर्दै यसले समग्र सञ्चार माध्यम र पत्रकारको विश्वसनीयता गुम्नेमा सचेत रहन ध्यानाकर्षण गराउनुभयो ।
एकपटक विश्वसनीयता गुमेका सञ्चारमाध्यम फेरि पुरानै अवस्थामा फर्कन कठिन हुने भन्दै क्षणिक लाभ नहेरेर तथ्यपरक, विश्वसनीय पत्रकारिता गर्न आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रममा अर्का स्रोत व्यक्ति पत्रकार थमन प्रसाद भुसाल (टिपि भुसाल)ले निर्देशिकाहरूबारे स्पष्ट पार्नुभएको थियो । बालमैत्री सञ्चार निर्देशिका, २०७३, अपाङ्गतामैत्री सञ्चार निर्देशिका, २०७३, महिला उत्तरदायी सञ्चार निर्देशिका, २०७६ र ज्येष्ठ नागरिक सञ्चार निर्देशिका, २०७८मा उल्लेख भएका व्यवस्थाबारे जानकारी गराउँदै उहाँले सत्य र तथ्यको फरक छुट्याउनुपर्ने बताउनुभयो ।
भाइरल सामग्रीले केही क्षण दर्शकको ध्यान खिच्न सक ेपनि दीर्घकालीन नहुने बताउनुभयो । आचारसंहिता पालना भएमा मात्र व्यावसायिक साख जोगिने र कानुनी कारबाही र विवादबाट मुक्त हुन सकिने बताउनुभयो ।
पत्रकार पनि आम नागरिकसरह भएकोमा जोड दिँदै कानुनी अज्ञानता क्षम्य नहुने बताउनुभयो ।
कार्यक्रममा चालु आर्थिक वर्षमा सूचना तथा प्रसारण विभागबाट अनलाइन सञ्चार माध्यम सञ्चालनका लागि अनुमति लिएका सञ्चार माध्यमका सम्पादक र सञ्चालकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागीहरुले काउन्सिलबाट हुने कामकारबाही बारे जिज्ञासा राखेका थिए । सहभागीहरुको जिज्ञासा र उठेका प्रश्नहरूको जवाफ काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले दिनुभएको थियो ।
साथै उहाँले काउन्सिलको अनुगमन र उजुरी सुनुवाई का साथै पछिल्लो समय देखिएका प्रवृत्तिबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा काउन्सिलका लेखा अधिकृत सिर्जना घिमिरेले सूचीकरणपश्चात अनलाइन सञ्चार माध्यमहरूले न्यूज पोर्टल सञ्चालन गर्दा ध्यान दिनुपर्ने विषयमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण शाखा अधिकृत सुवास राईले गर्नुभएको थियो ।



























