कृषिमन्त्री चौधरी र नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय संयोजकबीच शिष्टाचार भेट: कृषि रूपान्तरणका विषयमा छलफल

काठमाडौंँ । कृषि,वन तथा पर्यावरण मन्त्री गिता चौधरीसंग नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय संयोजक महामहिम Lila Pieters Yahia र राष्ट्र संघका एजेन्सी प्रमुखहरूले मन्त्रालयमा शिष्टाचार भेटघाट गर्नुभएको छ ।

कृषि प्रणालीलाई आधुनिक प्रविधिमैत्री बनाउँदै उत्पादनशीलता वृद्धि गर्ने, किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने, समावेशी र दिगो कृषि रूपान्तरणलाई प्राथमिकतामा राख्ने विषयमा छलफल भएको थियो ।

उक्त छलफलमा विशेषगरी युवा, महिला, आदिवासी जनजाति तथा अल्पसंख्यक समुदायको सशक्तिकरणलाई केन्द्रमा राख्दै पर्वतीय क्षेत्रको सांस्कृतिक तथा जैविक विविधता संरक्षणसहित दिगो विकास एजेन्डालाई अघि बढाउने विषयमा जोड दिइएको थियो ।

मन्त्री चौधरीले कृषि र खाद्य प्रणाली जलवायु परिवर्तनबाट उच्च जोखिममा रहेको उल्लेख गर्दै स्थानीय समुदायको सहनशीलता अभिवृद्धि गर्न आवश्यक नीतिगत तथा प्राविधिक सहयोगको आवश्यकता औंल्याउनुभयो ।

संयुक्त राष्ट्रसंघीय निकायका प्रमुखहरूले नेपालको प्राथमिकताप्रति ऐक्यबद्धता जनाउनुभएको छ । मन्त्री चौधरीले उठाउनु भएको एजेन्डामा प्राविधिक तथा नीतिगत सहयोग निरन्तर रूपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।