नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको कोषाध्यक्षमा प्रदीपमान प्रधान निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको कोषाध्यक्षमा प्रदीपमान प्रधान निर्विरोध भएका छन् । आगामी कार्यकालका लागि भएको निर्वाचनमा प्रधानको मात्र एकल उम्मेदवारी परेपछि उनी सर्वसम्मत कोषाध्यक्षमा चुनिएका हुन् । उनी बर्तमान कार्यसमितिमा पनि कोषाध्यक्ष हुन ।

संघको नयाँ कार्यसमितिका लागि बुधबार दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । सो अवधिमा कोषाध्यक्ष पदमा अन्य कसैको दाबी नपरेपछि प्रधान निर्विरोध चयन भएका हुन् ।

त्यसैगरी, संघको अध्यक्षमा रमानाथ श्रेष्ठ निर्विरोध, उपाध्यक्षहरूमा दुर्गाराज श्रेष्ठ, राजेन्द्र शेरचन र उज्वल जंग पराक्रम शाह निर्विरोध, महासचिवमा प्रेमहरि मैनाली निर्विरोध, सचिवमा सागर शाक्य निर्विरोध भएका छन् ।

संघको कार्यसमितिका लागि आवश्यक ११ जना सदस्य पदमा ११ जनाकै उम्मेदवारी परेकाले सबै सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध हुने सदस्यहरूमा रामचन्द्र खेतान, केशवप्रसाद मैनाली, सत्यबहादुर श्रेष्ठ, दीपक भण्डारी क र दीपक भण्डारी ख, भुवन श्रेष्ठ, चन्द्रबहादुर थापा, गौतम भट्ट, पुष्पराज श्रेष्ठ, फुपू तेन्जिङ शेर्पा र नरेश कुमार अग्रवाल रहेका छन्। यसैगरी, वर्तमान अध्यक्ष दिनेश श्रेष्ठ नयाँ कार्यसमितिमा पदेन कार्यसमिति सदस्य रहनेछन्।

संघको साधारणसभा जेठ ९ गते हुँदैछ ।