काठमाडौं । नेपालभरका महिला उद्यमीहरूको प्रतिनिधित्व गर्ने एक मात्र छाता संस्थाको रूपमा स्थापित महिला उद्यमी महासंघ नेपाल ले २३ वर्षदेखि महिला उद्यमशीलताको विकास र प्रवद्र्धनमा निरन्तर काम गर्दै आएको छ।
महिलाहरूको सामाजिक तथा आर्थिक सशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको महासंघले यसै क्रममा ९औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२६ आयोजना गर्न लागेको हो।
यस वर्षको मेलामा देशका विभिन्न जिल्ला तथा ग्रामीण क्षेत्रका सफल महिला उद्यमीहरूलाई उनीहरूको उद्यमशीलताको पहिचान, प्रोत्साहन र उत्साह अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ। मेलाको उद्घाटन समारोह चैत २० गते हुने तय भएको छ ।
महासंघले नेपालभरका ७७ जिल्लामा जिल्ला महिला उद्यमी संघ स्थापना गरी ६,००० भन्दा बढी महिला उद्यमीलाई सदस्यतामा आबद्ध गरिसकेको छ। साथै, करिब १ लाख भन्दा बढी अप्रत्यक्ष लाभग्राहीहरू छन्।
महासंघले २०८२ साल चैत २० गतेदेखि २२ गतेसम्म (३–५ अप्रिल २०२६) तिन दिन ललितपुरको Heritage Garden मा ९औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२६ आयोजना गर्न लागेको हो।
उक्त मेलामा नेपालका विभिन्न जिल्लाका घरेलु,साना तथा मझौला महिला उद्यमी, व्यवसायी तथा निर्यातकर्तासहित विभिन्न देशका महिला उद्यमीहरूको सहभागिता रहनेछ । यस मेलाले महिला उद्यमीहरूलाई आफ्नो रैथाने तथा मौलिक उत्पादनको प्रदर्शन, बजार विस्तार, नेटवर्किङ र व्यापारिक सहकार्यको अवसर प्रदान गर्ने छ।
यस मेलामा जम्मा १४० वटा स्टलहरु रहनेछन् । यस मेलामा हस्तकलाका सामानहरु जस्तैः प्राकृतिक रेसाजन्य वस्तु ढाकाका सामानहरु, गलैचा, हाते कागजका सामानहरु जैविक खाद्य पदार्थ स्वदेशी रैथाने खानेकुरामा परिकारहरु, कृषिजन्य उत्पादनहरु, जडिबुटीका सामानहरु विभिन्न मुर्तिहरु गरगहना सजावटका सामानअरु विभिन्न सेवा प्रदायक संस्थाहरुका स्टलहरु आर्कषक ढंगले प्रदर्शनीमा राखिनेछ ।
यस मेलामा जिल्ला राष्ट्रिय तथा अन्र्तराष्ट्रिय महिला उद्यमीहरुका महिलाहरुको सिप र सृजनालाई अगाडी ल्याएर राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बजारमा आफ्नो पहिचान सघाउ पुर्याउनका साथै उनीहरुलाई अगाडी बढ्न प्रोत्साहन गर्ने विस्वास पनि महिला उद्यमी महासंघले लिएको छ ।
मेलामा भारतबाट फेवरिक तथा कस्मेटिक सामाग्रीहरु, चिनबाट Electrolyte drinks, कोरियाबाट कस्मेटिक सामान तथा नुडल्सहरु र भुटानबाट रिसाइकल उत्पादनहरु का साथै अन्र्तराष्ट्रिय महिला उद्यमीहरुको उत्कृष्ट उत्पादनहरुको प्रदर्शनीमा राख्दै उत्पादनहरु किन्ने र अवलोकन गर्ने अवसर प्राप्त हुनेछ ।
विशेष गरी सात प्रदेशका महिला उद्यमीहरुले आफ्ना रैथाने उत्पादनहरु विक्रि तथा प्रदर्शनी गर्नेछ ।


























