काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग यही चैत ३० गतेबाट सुरु गर्ने भएको छ ।
मंगलबार एन्फाले नेपाल खेलाडी संघसंग सहिद स्मारक ए डिभिजन लिग यही चैत ३० गतेबाट सुरु गर्ने गरि सहमति गरेको हो । चैत ३० गते उद्घाटन गरि केहि समय लिग स्थगीत गर्ने र त्यसपछि तालिका तयार गरेर अन्य खेल भने बैशाख २० बाट निरन्तर गर्ने सहमति भएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।
त्यस्तैं खेलाडी अक्षय कोषमा जम्मा गर्नुपर्ने रकम संघले जम्मा गर्ने प्रतिबद्धता जनाएको छ । खेलाडीहरूको सेवा–सुविधासम्बन्धी अघिल्लो कार्यसमितिबाट निर्णय भई भुक्तानी हुन बाँकी रहेको पुरस्कार रकम यही चैत महिनादेखि किस्ताबन्दीमा भुक्तानी गर्दै जाने सहमति पनि भएको प्रवक्ता शाहले बताउनुभयो ।
त्यस्तै खेलाडी संघका अध्यक्ष विक्रम लामाले नेपाली फुटबललाई चलायमान बनाउन आफुहरुको दवाव भएको भन्दै अहिले भएको सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । एन्फा र संघबीच सहमति भएपछि एन्फा मुख्यालयमा गरिएको तालाबन्दी खोलिएको छ ।


























