नवलपरासीको मुहार फेर्ने गरी काम गर्छु:देवेन्द्र पौडेल

‘राजनीति भनेको जनताको सेवक हुनु हो त्यसकारण नवलपरासीको मुहार फर्ने मेरो संकल्प

परासी । नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् नवलपरासी पश्चिम २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवेन्द्र पौडेलले पश्चिम नवलपरासीको विकास आफनो पहिलो प्राथमिकता रहेको बताएका छन् । शनिबार नवलपरासीको सदमुकाम परासी बजारमा पार्टीको कोणसभामा बोल्दै उनले आफ्नो जिवन नै राजनीतिमा बितेको बताउँदै नवलपरासीको विकास पहिलो प्राथमिकतामा रहेको बताएका हुन् । ‘मेरो कुनै पेशा छैन म पूर्णकालिन राजनीतिमा छु,’ उनले भने, ‘राजनीति भनेको जनताको सेवक हुनु हो त्यसकारण नवलपरासीको मुहार फर्ने मेरो संकल्प छ ।’
चितवन र बुटलव पूर्वाधार विकासमा फड्को मारेको बताउँदै महेश्पुर नाकालाई पूर्ण रुपमा सञ्चालन गरी रोजगारीको सृजना गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘चितवन र बुटवल पूर्वाधार विकासमा धेरै अगाडी बढेका छन्,’ उनले भने, ‘नवलपरासीका ४ वटा पालिकालाई देशकै नमुना बनाउने गरी काम अगाडी बढाउँछु ।’
नवलपरासी पश्चिममा नागरिकताको समस्या अझै रहेको बताउँदै त्यसको समाधानका लागि काम गर्ने बताए । ‘पश्चिम नवलपरासीमा नागरिकताको समस्या रहेको मैले बुझेको छु,’ उनले भने, ‘संविधानले प्रत्येक नेपाली नागरिकलाई नागरिकताबाट बञ्चित गराउन नहुने भनेको छ । तत्कालिन प्रचण्ड नेतृत्वको सरकारले नागरिकताको विषय समाधान गरेको छ ।’
शिक्षामन्त्री हुँदा विद्यालयका पूर्वाधार तथा आइसीटीको क्षेत्रमा नवलपरासी प्राथमिकतामा राखेको बताउँदै बन्न बाँकी पूर्वाधार निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नवलपरासीमा स्वास्थ्य, खानेपानी, सिचाईको समस्या रहेको बताउँदै संघीय सरकारसँगको समन्वयमा समाधान गर्ने बताए ।