नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल सम्मानित भारतको बिहार राज्य अन्तर्गत मधुबनीमा मिति ३१ जनवरीदेखि २ फेब्रुअरी २०२६ सम्म “विश्व खाद्य सुरक्षाका लागि जलवायु–स्मार्ट खेती” विषयक अन्तर्राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ।
सम्मेलनका क्रममा बिहार राज्यका कृषि मन्त्री श्री रामकृपाल यादवज्यूको करकमलबाट नेपाल डेरी एसोसिएसनका अध्यक्ष श्री प्रल्हाद दाहालज्यू सम्मानित हुनु भएको छ। उक्त सम्मान हरेक वर्ष कृषि तथा उद्योग क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका विशिष्ट उद्योगपतिहरूलाई प्रदान गरिँदै आएको प्रतिष्ठित सम्मान हो।

एस.के. चौधरी शैक्षिक फाउन्डेसनद्वारा आयोजित यस अन्तर्राष्ट्रिय सम्मेलनमा २७ देशका कृषि, स्वास्थ्य तथा शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपालबाट पूर्व सचिव डा. योगेन्द्र कार्कीको नेतृत्वमा एक भ्रमण टोली सम्मेलनमा सहभागी भई अनुभव आदानप्रदान तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा सक्रिय छलफल गरिएको थियो। सम्मेलनमा जलवायु परिवर्तनले कृषि तथा खाद्य प्रणालीमा पार्ने प्रभाव, दिगो खेती प्रविधि, किसानमैत्री नवप्रवर्तन, जलवायु अनुकूल बीउ, माटो संरक्षण, पानीको प्रभावकारी उपयोग तथा आधुनिक प्रविधिको प्रयोगबारे गहन विचार–विमर्श गरियो।
विभिन्न देशका विज्ञ, अनुसन्धानकर्ता, नीति निर्माता, शिक्षाविद् तथा कृषिक्षेत्रका प्रतिनिधिहरूले प्राविधिक सत्र र प्रस्तुतीमार्फत आफ्ना अनुभव साझा गरे। सम्मेलनले बदलिँदो जलवायु अवस्थामा पनि उत्पादन वृद्धि, किसानको आम्दानी सुरक्षित गर्ने उपाय र दीर्घकालीन खाद्य सुरक्षा सुनिश्चित गर्न जलवायु–स्मार्ट खेतीलाई नीतिगत र व्यवहारिक रूपमा अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ।


























