दुईतिहाइ मतले जित्छु – ओली

झापाकेपी शर्मा ओलीले आगामी निर्वाचनमा आफू दुईतिहाइ मतसहित विजयी हुने दाबी गरेका छन्। कांग्रेस अझै सुदृढ हुन नसकेको र पूर्वमाओवादीका धेरै मतदातासमेत एमालेमै मतदान गर्ने मनस्थितिमा रहेको उल्लेख गर्दै उनले करिब ७० प्रतिशत मत एमालेको पक्षमा आउने बताए।

बुधबार  झापाको कमल गाउँपालिकाका कार्यकर्तासँगको भेटमा ओलीले विकास, रुपान्तरण र बलियो जनआधारका कारण सिंगो क्षेत्र नै एमालेको पक्षमा एकढिक्का रहेको दाबी गरे। गत भदौमा भएको आन्दोलन राजनीतिकभन्दा बढी आपराधिक गतिविधितर्फ मोडिएको उल्लेख गर्दै उनले आन्दोलनका क्रममा भन्दा पनि आपराधिक कार्यकै कारण मृत्यु भएको बताए। “त्यो आपराधिक घटना हो,” उनले भने, “नगरपालिका र बिजनेस कम्प्लेक्स किन जलाइयो? दमक नमुना सहरका रूपमा विकास भइरहेको छ। त्यस्ता संरचनालाई भ्यू टावर होइन, आईटी हबका रूपमा विकास गर्न सकिन्थ्यो। देश जलाएर र जनता आतंकित पारेर विकास हुँदैन।”

उनले दमक, कमल, गौरादह, गौरीगञ्जलगायत क्षेत्रमा भएका विकास र प्रगति सबैका आँखाअघि स्पष्ट रहेको बताए। नदी कटान नियन्त्रण, बाँध, पुल तथा सडक निर्माण, विद्यालय भवन, विद्युतीकरण, खानेपानी र स्वास्थ्यजस्ता हरेक क्षेत्रमा भएको विकासबारे बुझ्न बाँकी भए बुझ्न आग्रह गरे। साथै, बालेनलक्षित टिप्पणी गर्दै सुकुमबासी बस्तीमा डोजर चलाउनेहरूले भूमिहीन नागरिकको व्यवस्थापन नबुझेको दाबी पनि गरे।