अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १३ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-१३ कालिमाटी टंकेश्वरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ९ ट्याब्लेट र नगद १२ लाख ८१ हजार रूपैयाँसहित सोही ठाउँ डेरा गरी बस्ने मकवानपुर इन्द्रसरोवर गाउँपालिका-५ घर भएका ३० वर्षीय सुरोज नगरकोटीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कैलाली, गोदावरी नगरपालिका-१ मनहेराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २० ग्राम १ सय ३० मिलिग्रामसहित कञ्चनपुर बेलडाँडी गाउँपालिका-३ बस्ने ४५ वर्षीय हरीप्रसाद चौधरीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

झापा, कन्काई नगरपालिका-४ बरपिपल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ५९ मिलिग्राम र नगद २३ हजार १ सय ९१ रूपैयाँसहित सोही ठाउँ बस्ने ३५ वर्षीय मोहन हेमरमलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-६ बरूवागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ बस्ने ३० वर्षीय निर्मल घर्तिमगर र १९ वर्षीय गोपाल बुढाथोकी रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

ललितपुर, महालक्ष्मी नगरपालिका-५ टिकाथलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेटसहित सोही ठाउँ बस्ने ललितपुर महानगरपालिका-१६ पाटन कोबहाल घर भएका ३२ वर्षीय सनम नेवालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टिकाथलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

रूपन्देही, सैनामैना नगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ५ सय ८० मिलिग्राम र नगद १४ हजार रूपैयाँसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३७ वर्षीय मनोज थापा मगर र गैडहवा गाउँपालिका-९ बस्ने ३० वर्षीय अमृत राना रहेका छन् । इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले मनोजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-२ ट्याक्सी स्टेण्डबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट र स्पास्पेन १ सय ५० ट्याब्लेटसहित धनकुटा, धनकुटा नगरपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१५ चाईना मार्केटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-५ बस्ने २० वर्षीया सोनिका तामाङ र २० वर्षीय राज प्रधान रहेका छन् । इलाका प्रहरी कार्यालय रानी‍बाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ बैबाहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ४० मिलिग्रामसहित शुक्लाफाँटा नगरपालिका-१ बन्साहा बस्ने २० वर्षीय सन्तोष सिंह बिष्टलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

नवलपरासी पूर्व, देवचुली नगरपालिका-१७ कुलेनीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७१ ट्याब्लेट, ऐनारगन ७१ ट्याब्लेट र नगद ४ हजार ३ सय ३५ रूपैयाँसहित गैंडाकोट नगरपालिका-१७ अमरापुरी बस्ने ३३ वर्षीय तुल बहादुर विकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले झहरेखोलाबाट कुलेनीतर्फ जाँदै गरेको लु.१ ह २६८० नम्बरको अटो जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक तुल बहादुरलाई पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा प्रहरीले उनको घर तलासी गर्दा नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ट्याब्लेट र ऐनारगन ६ सय ट्याब्लेट फेला पारी बरामद गरेको छ ।