देशैभर मनसुनी वायुको प्रभाव कायम, देशका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षाको संम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भाग नजिक रहेको छ । जसले गर्दा देशभर साधारणतया बादल लागेको छ ।

हाल बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ । देशका पहाडी भागका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।

देशका तराई भागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भाग तथा गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भाग साथै मधेस प्रदेशका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।

कर्णाली प्रदेशका पहाडी भाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।