काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका, काभ्रेपलाञ्चोकको आयोजनामा सार्वजनिक खरिद सम्बन्धी तीन दिने तालिम कार्यक्रम आजदेखि औपचारिक रूपमा शुभारम्भ भएको छ।
सार्वजनिक खरिद, बेरुजु फर्छ्यौट, सुशासन तथा अनुसन्धान सम्बन्धी विषयलाई केन्द्रमा राखेर सञ्चालन गरिएको उक्त तीन दिने तालिम कार्यक्रमको उद्घाटन नगर प्रमुख टोक बहादुर वाइबा तथा नगर उप-प्रमुख विष्णुमणी नेपालज्यूले संयुक्त रूपमा गर्नुभएको हो।
नगर प्रमुखले नगरपालिकाहरू संघीय सरकारको सुशासन, पारदर्शिता र जवाफदेहितामुखी नयाँ नीति तथा सुधारको भावनाअनुसार अनुपालन संस्कृतिलाई संस्थागत गर्ने दिशामा अग्रसर रहेको उल्लेख गर्नुभयो।
उहाँले कानुनी व्यवस्थाको मात्र होइन अनुपालनको भावना लाई आत्मसात गर्दै वित्तीय व्यवस्थापन, खरिद प्रणाली र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेतर्फ स्थानीय तहहरू प्रतिबद्ध रहेको बताउनुभयो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धितालले सहभागीहरूलाई स्वागत गर्दै सार्वजनिक वित्तीय व्यवस्थापन, पारदर्शिता, जवाफदेहिता तथा सुशासन प्रवर्द्धनका लागि यस्ता क्षमता विकासमूलक कार्यक्रम अत्यन्त आवश्यक रहेको बताउनुभयो।
नगरपालिकाले आफ्नै स्रोत, साधन र व्यवस्थापनमा यस्तो विषयगत तालिम सञ्चालन गर्नु सुशासन, वित्तीय अनुशासन तथा अनुपालनप्रतिको संस्थागत प्रतिबद्धताको महत्वपूर्ण उदाहरण भएको उहाँले उल्लेख गर्नुभयो।
तालिममा सार्वजनिक खरिद ऐन तथा नियमावली, खरिद योजना, बोलपत्र प्रक्रिया, सम्झौता व्यवस्थापन, विद्युतीय खरिद प्रणाली (e-GP), परामर्श सेवा खरिद, बेरुजु फर्छ्यौट तथा अनुसन्धान सम्बन्धी व्यवहारिक विषयहरू समेटिएका छन्।

कार्यक्रममा एडीबी तथा सार्वजनिक खरिद अनुगमन कार्यालय का खरिद विज्ञ, महालेखा परीक्षक कार्यालयका पूर्व कर्मचारी तथा अनुसन्धान सम्बन्धी अनुभवी स्रोत व्यक्तिहरूबाट सहजीकरण भइरहेको आरएसएम अल्फा का अध्यक्ष वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट रमेश धितालले जानकारी दिँदै कार्यक्रमले सार्वजनिक वित्तीय सुशासन, पारदर्शिता तथा जवाफदेहिता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ।
नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी तथा उत्तरदायी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास सीए रमेश धितालले व्यक्त गर्नुभयो।

























