काठमाडौं । नेपाली फिल्म ‘काजी’ को ट्रेलर सार्वजनिक भएको छोटो समयमै दर्शकबाट उत्साहजनक र सकारात्मक प्रतिक्रिया आउन थालेको छ।
भावनात्मक संवाद, पारिवारिक कथा र कलाकारहरूको सशक्त अभिनयले सामाजिक सञ्जालमा राम्रो चर्चा पाइरहेको छ। ट्रेलरमा अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारीको अभिनय विशेष रूपमा प्रशंसित भइरहेको छ। उनीहरूको केमेस्ट्रीले दर्शकलाई गहिरो रूपमा छोएको प्रतिक्रिया सामाजिक सञ्जालमा देखिन्छ।
प्रेम, विश्वास र सम्बन्धबीचको द्वन्द्वलाई केन्द्रमा राखिएको ट्रेलरले छोटो समयमै मुभी चार्टको टप पाँचभित्र स्थान बनाउन सफल भएको छ। यसले फिल्मप्रति दर्शकको बढ्दो उत्साह र अपेक्षालाई संकेत गर्छ।
ट्रेलरले पारिवारिक सम्बन्ध, प्रेम, त्याग र विश्वासलाई भावुक ढंगले प्रस्तुत गरेको छ। विशेषगरी विपीन कार्कीका भावुक संवाद र केकी अधिकारीको समर्पित पत्नीको भूमिकाले दर्शकको मन जित्न सफल भएको देखिन्छ।

ट्रेलरको सबैभन्दा बलियो पक्ष यसको स्वाभाविक र यथार्थपरक संवादहरू हुन्। संवादहरू बनावटी नभई वास्तविक जीवनसँग नजिक महसुस हुने खालका छन्। ग्रामीण तथा मध्यमवर्गीय नेपाली परिवारको परिवेशलाई पनि प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ।
फिल्म आगामी जेठ ८ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ। फिल्मलाई यस वर्षकै प्रतीक्षित चलचित्रमध्ये एकका रूपमा हेरिएको छ। फिल्ममा विपीन कार्की र केकी अधिकारीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याललगायत कलाकारको अभिनय रहेको छ।
रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्म ‘काजी’ रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन् भने कथा प्रदीप भारद्धाजले लेखेका हुन्।
नेहान रिजाल र विकाशराज जोशी निर्माता रहेको फिल्ममा असिम काफ्ले कार्यकारी निर्माता छन्। छायांकन चिन्तन राजभण्डारी, संगीत कालीप्रसाद बास्कोटा, नृत्य निर्देशन कविराज गहतराज, प्रोडक्सन डिजाइन ओजस्वी ओझा, रंग संयोजन श्याम कुँवर, साउण्ड डिजाइन सागर अर्याल, पार्श्व संगीत सुजिल कर्माचार्य, सम्पादन विपीन मल्ल र सुपरभाइजर सम्पादन बनिश शाहले गरेका छन्।
फिल्मलाई श्रीराम बालाजी फिल्मस्ले नेपालभर वितरण गर्नेछ।

























