काठमाडौं । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको राजधानी पोर्ट लुइसमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबार भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन्।
परराष्ट्र मन्त्रालयकाअनुसार भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करसँग भएको भेटमा बहुआयामिक नेपाल–भारत सम्बन्धको समग्र समीक्षा हुनका साथै आपसी हितका विविध विषयमा छलफल भएको थियो।
परराष्ट्रमन्त्रीद्वयले द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। यसैगरी, मन्त्री खनालसँग भुटानका परराष्ट्र तथा वैदेशिक व्यापारमन्त्री डी. एन. धुङ्गेलसँग पनि भेटवार्ता गरेका छन्।
त्यस अवसरमा नेपाल–भुटानबीचको घनिष्ठ सम्बन्धलाई थप विस्तार गर्दै आपसी हितका प्रमुख क्षेत्रमा सहयोग अभिवृद्धि गर्नेबारेमा छलफल भएको थियो।
मन्त्री खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री खलिलुर रहमानसँग पनि भेटवार्ता भएको छ।
भेटमा दुई देशबीचको सौहार्दपूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै सहयोगका विविध क्षेत्र विस्तार गरी पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल गरेका थिए।

























