महासंघमा बिदुर धमलाको उम्मेदवारी:निर्वाचित भए नीतिगत तहमा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता

व्यवस्थित, मर्यादित र उत्पादनमुखी बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधार अपरिहार्य रहेको भनाई

काठमाडौं  । नेपाल जग्गा तथा आवास विकास संघका निवर्तमान अध्यक्ष विदुर धमलाले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी समिति सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

महासंघको चैत २९ र ३० गते हुने साधारण सभाबाट नयाँ नेतृत्व चयन हुँदैछ। करिब तीन दशक लामो व्यावसायिक अनुभव बोकेका धमला पर्यटन, होटल, बैंकिङ, एयरलाइन्स, हस्तकला निर्यात हुँदै हाल घरजग्गा तथा आवास क्षेत्रमा सक्रिय छन्।

उनले आफू कुनै पद वा प्रतिष्ठाका लागि नभई मुलुकको आर्थिक विकासमा योगदान दिन महासङ्घमा जान चाहेको बताएका छन्।

धमलाका अनुसार घरजग्गा तथा आवास क्षेत्रलाई राज्य र नीतिगत तहबाट अझै सकारात्मक रूपमा हेरिएको छैन । उनले यस क्षेत्रलाई व्यवस्थित, मर्यादित र उत्पादनमुखी बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधार अपरिहार्य रहेको बताए।

“देश धनी नभएसम्म व्यक्ति धनी भएर अर्थ हुँदैन,” उनले भने, “पूर्वाधार विकास, सहरीकरण र व्यवस्थित बस्ती निर्माणमा जोड दिनुपर्छ।” उनले घरजग्गा व्यवसायलाई ‘मास्टर बिजनेस’को रूपमा व्याख्या गर्दै यसले सिमेन्ट, छड, फर्निचर, टायल्स लगायतका धेरै क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने बताए। सो क्षेत्र सुस्त हुँदा समग्र अर्थतन्त्रमा असर परेको उनको भनाइ छ।

हालको ऐन, कानुन र बैंकिङ व्यवस्थाले घरजग्गा क्षेत्रलाई सहज रूपमा काम गर्न नदिएको गुनासो गर्दै उनले प्रोजेक्ट फाइनान्सिङ, ऋण प्रवाह, हदबन्दी लगायतका विषयमा सुधार आवश्यक रहेको औंल्याए।

कम्पनीमार्फत व्यवस्थित रूपमा विकास निर्माण हुनुपर्नेमा व्यक्तिस्तरमै कारोबार गर्ने प्रचलनले समस्या थपिएको उनले बताए।

महासंघमा घरजग्गा क्षेत्रको पर्याप्त प्रतिनिधित्व नभएको उल्लेख गर्दै धमलाले आफू निर्वाचित भए नीतिगत तहमा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता जनाए।

उनले रोजगारी सिर्जना, दीगो आर्थिक विकास र सहरी पूर्वाधार विस्तारका लागि काम गर्ने एजेन्डा अघि सारेका छन्। साथै, उनले महासङ्घमा गुटबन्दीभन्दा सहमति र साझा एजेन्डामा केन्द्रित नेतृत्व आवश्यक रहेको उल्लेख गरे।

आफूभन्दा सक्षम व्यक्ति आए सहयोग गर्न तयार रहेको बताउँदै उनले व्यक्तिगत स्वार्थ नभई देशका लागि योगदान गर्ने उद्देश्यले उम्मेदवारी दिएको दोहोर्याए।